Health & Beauty

आँखाको नानी दानबारे तथ्य र भ्रम

विश्वमा प्रचलित सबै धर्मशास्त्रमा दानबारे उल्लेख छ । सनातन बौद्ध, इस्लाम, क्रिस्चियन, जैन आदि सबै धर्मवालम्बीहरू दैनिक, मासिक र वार्षिक रूपमा केही न केही दान गर्छन् । सनातन धर्मावलम्बीहरूको सबैभन्दा पुरानो लिखित ग्रन्थ वेदमा दानको महिमा वर्णन छ । वेद उपनिषद्, पुराण एवं महाकाव्यमा दानबारे विस्तृत रूपमा व्याख्या गरिएको छ । यो लोकमा उन्नति र परलोकमा सुख दिने चार प्रकारको दानको उल्लेख शास्त्रमा पाइन्छ । सौराष्ट्रका राजा धर्म बर्माले सुनेको आकाशवाणीमा ध्रुव, त्रिक, काम्य र नैमित्तिक दानको उल्लेख पाइन्छ ।

पानी कुवा, इनार, ढुंगेधारा, पोखरी, बागबगैँचा, विद्यालय, चिकित्सालय आदिमा खर्च चिरस्थायी हुने भएकाले ध्रुव दान भनिन्छ । त्यसरी नै सन्तान, विजय र ऐश्वर्य प्राप्तिको लागि खर्च गरिएको दानलाई त्रिक भनिन्छ । कुनै कुरा प्राप्त होस् भनेर गरिएको दान काम्य हो । अन्त्यमा नैमित्तिक दान विशेष चाडपर्व आदिमा गरिने दान हो । यसको आधारमा शरीर, रगत वा आँखा दानलाई ध्रुव दानको कोटीमा राखिन्छ । यीबाहेक दान दिएर पछुताउनुपरेमा त्रिनाशम दान भन्ने गरिन्छ ।

कुनै पनि धर्ममा आस्था नराख्ने नयाँ पुस्ताको जमात पनि ठूलै छ । त्यो जमात दानबारे लेख्ने वा बोल्नेभन्दा काम गरेर देखाउनेमा विश्वास गर्छ । आवश्यकताअनुसार विश्वको जुनसुकै कुनामा पुगेर समाज सेवा, परोपकारको कार्य गर्न पछि पर्दैनन् । यस्तै जमातले विभिन्न संघसंस्थामार्फत आँखाको नानी दान-बारे प्रचार-प्रसार गरिरहेका छन् । नेपालमा पनि आँखा दानको तथ्य र भ्रमबारे प्रचार गर्न युवा जमात लागेका छन् । न्युयोर्क सहरमा सन् १९४४ मा सर्वप्रथम आँखा बैंक खुल्यो । डा. टोनले प्याटोन र डा. जोन भ्याकलिनको सक्रियतामा आँखा बैक खुलेपछि युरोप र अन्यत्र पनि विस्तारै आँखा बैंक खुल्न थाले । अमेरिकामा नौ सयभन्दा बढी आँखा बैंकको आवश्यकता भएको तथ्यांक प्रकाशित छ । तर ८० वटा मात्रै आँखा बैंक सञ्चालनमा छन् ।

मोतीविन्दु वा अन्य कारणले आँखाको नानी बिगे्रमा पनि शल्यक्रियाद्वारा फेर्ने प्रविधिको विकास भइसकेको छ । आँखाको नानी चुच्चो हुँदै जाने केराटोकोनसजस्तो विशेष रोगमा पनि अरूद्वारा प्राप्त नानी प्रत्यारोपण गर्न सकिन्छ । चुच्चो नानी हुने रोग एसियामा बढी देखिने तथ्य अनुसन्धानबाट पत्ता लागेको छ । विविध कारणले आँखाको नानीले काम नगर्ने अर्थात् नदेख्ने भएमा मृत व्यक्तिको स्वस्थ नानी प्रत्यारोपण गर्न सकिन्छ । आँखाको नानी विभिन्न कारणले काम नलाग्ने (खसण) हुन सक्छ ।

जस्तो- नानीमा फुलो परेमा, नानीमा चोटपटक लागेमा, विभिन्न रसायन परेर नानीमा दखल परेमा, ब्याक्टेरिया, भाइरस आदिको कारणले आँखा पाकेमा, फोक्सोमा लगेको क्षयरोग, संक्रमण भएर नानीमा पुगेमा, आँखामा भएको एलर्जीले नानीमा दखल गरेमा, बाथ रोगको संक्रमण नानीमा पुगेमा, जनैखटिरा निधारमा आएर नानीमा सरेमा, आँखाको शल्यक्रिया गर्दा नानीमा चोट परेमा, जन्मिदै नानी अस्वस्थ भएर धमिलो देख्ने भएमा, केराटोकोनस रोगद्वारा नानी चुच्चो हुँदै गएमा, वंशानुगत रोग कोरनेलड्रिस्टोदी भएमा, भिटामिन बी र अन्य मिनरलको कमी भएमा देख्न नसक्ने मानिसलाई यी विविध कारणले अस्वस्थ भए नानी फेर्न मृत व्यक्तिको आँखाबाट निकालिएको कोरनिय नानी नै चाह्न्छि ।

त्यसैले यो सुन्दर पृथ्वीका छटा अवलोकन गरेर दैनिक जीवन सहज बनाउन आफ्नो मृत्यु पछि आँखाको नानी प्रदान गर्न सकिन्छ । आफू मरेपछि जलेर, गलेर माटो खरानी हुने नानीलाई सदुपयोग गर्न सकिन्छ । अर्थ र समय दुवैको लगानीबिना नै परोपकारी कार्य गरेर पुण्य कमाउन सकिने सुवर्ण अवसर हो, ‘आँखा दान महादान ।’ सन् १९०३ मा चेकोस्लोभाकियाका जिमले एकजना बिरामीको पहिलोपटक काम नलाग्ने भएको कर्नियालाई सफलतापूर्वक फेरेका थिए ।

आँखाको नानी प्रत्यारोपणको इतिहासमा सन् १९०५ ले एक कदम फड्को मार्‍यो ।एडवार्ड कोनार्ड जिम (एमडी) ले १९०५ मा सफलतापूर्वक कोर्निया प्रत्यारोपण गरे । आँखा नदेख्ने धेरैजनाले आँखाको नानी पाएर नवजीवन प्राप्त गरे । सन् १९४० मा नानी प्रत्यारोपणको प्रविधिमा धेरै सुधार भयो । १९४४ मा आर टोन पटोनले लामो अनुसन्धानपछि विश्वको पहिलो आधुनिक आँखा बैंक न्युयोर्कमा स्थापना गरे ।

विश्वका विभिन्न देशमा आँखा बैंक खुल्ने क्रममा भारतको मद्रासमा सन् १९४५ मा आँखा बैंक खुल्यो । नेपालमा विसं २०४४ (सन् १९८७) मा त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा र पशुपति तिलगंगाको आँखा केन्द्रमा सन् १९९४ मा आँखा बैंक खुल्यो ।
विभिन्न संघसंस्थाको सक्रियतामा आँखाको नानी संकलन र प्रत्यारोपण गर्ने काम नेपालका धेरै गाउँमा भइरहेको छ । आँखा बैंकको अभाव भने हिमाली र विकट पहाडी क्षेत्रमा यथावत् नै छ । तुलनात्मक रूपमा आँखा दानबारे चेतना बढेर इच्छापत्र भरेर आँखा दान सम्मानपत्र सुरक्षित राखेर दानद्वारा दान गरिएको आँखा समयमै दान लिनेकहाँ पुर्‍याउन नसक्दा त्यसै खेर गइरहेको अवस्था हामीकहाँ छ ।

आँखा कमजोर भएका मानिसहरू जसले पढ्दा र टाढा हेर्दा चस्मा प्रयोग गर्छन्, तिनले पनि आँखा दान गर्न सक्छन् । नवजात शिशुदेखि सय वर्ष पार गरेका पाका व्यक्तिहरूको नानी पनि ढुक्कसँग प्रत्यारोपण गर्न सकिन्छ । १०३ वर्षसम्मका दाताको नानी प्रत्यारोपण गरिएको इतिहास छ । आँखाको नानी वृद्धवृद्धाको तुलनामा तन्नेरीद्वारा प्राप्त भएका बढी स्वस्थ हुने तथ्य यसमा संलग्न डाक्टरहरू बताउँछन् ।

आँखा र कानको विशेष अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने कामको लागि भने रोगी कर्निया पनि उपयोगी हुन्छ । कर्निया प्रत्यारोपणको लागि भने स्वस्थ कर्निया नै चाहिन्छ । निम्नलिखित रोग लागेका मानिसहरूका आँखा प्रत्यारोपण गर्न सकिँदैन- पोलेर मृत्यु भएमा, विषालु किरा, सर्पले टोकेर मृत्यु भएमा, जलविन्दु भएमा, एचआईभी/एड्सद्वारा मृत्यु भएमा, हेपाटाइटिस बी र सी भएमा, क्यान्सर भएमा, रगतबाट सर्ने रोग भएमा, धनुष्टंकारद्वारा मृत्यु भएमा, इन्सेफ्लाइटिस भएमा, जन्मजात कन्जिन्टेल रुबेल्ला भएमा, लिम्फो सार्कोमा भएमा ।

यसबाहेक कमजोर आँखा मोतीविन्दु भएकाले पनि आँखा दान गर्न सक्छन् । विशेष रोग लागेका व्यक्तिले दान गरेको आँखा अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिँदैन, तर अध्ययन-अनुसन्धानमा उपयोग गर्न सकिन्छ ।

हामीकहाँ आँखा दानबारे चेतना बढेर इच्छापत्र भरेर आँखा दान सम्मानपत्र सुरक्षित राखेर दानद्वारा दान गरिएको आँखा समयमै दान लिनेकहाँ पुर्‍याउन नसक्दा त्यसै खेर गइरहेको अवस्था छ ।

डा. रामप्रसाद पोखरेलले आँखा अस्पताल स्थापना गरेर आँखाका विविध रोग र आँखा दानबारे जनचेतना फैलाउन उत्साहजनक कार्य गरेका छन् । डा. पोखरेलले २०२९ सालमा वीर अस्पतालमा मृत्यु भएका व्यक्तिको कोर्निया सीता उप्रेती र मोहन कार्कीलाई सफलतापूर्वक प्रत्यारोपण गरे ।

उनले भारत र अमेरिकाबाट पनि कर्निया ल्याएर नेपालमा प्रत्यारोपण गरेका थिए । वीर अस्पतालमा २०४४ सालमा मृत्यु भएका पत्रकार रामराज पौड्यालको कर्निया पनि साहित्यकार कमलमणि दीक्षितको अगुवाइमा दुईजना व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो । सामान्यतया आँखा दान गर्ने र लिने दुवैको परिचय गोप्य राख्ने चलन छ । आँखादाता र प्राप्त गर्ने व्यक्तिबाट कुनै पनि शुल्क लिने, दिने गरिँदैन । दाताको नानी संकलन गर्न दाता वा अस्पताल वा आँखा बैंकमै पुर्‍याउन पर्दैन । मृतक व्यक्ति भएको ठाँउमा तालिम प्राप्त प्राविधिकहरू आफैँ आउँछन् । मृत्यु भएको ८/१० घन्टाभित्र नै नानी झिक्नुपर्ने भएकाले मृतकका आफन्तले आँखा दानको लागि समयमै खबर गर्नुपर्दछ ।

दाताका आफन्तले अपनाउनुपर्ने सावधानीहरू छन्- चिसो पानीले भिजाएर निचोरेको मलमलको कपडाले आँखा/मुख छोप्ने, आँखाको नानी दान गर्ने मृत व्यक्तिको टाउको तकियामा राख्ने, घामपानी र हावा सोझै आँखामा नपार्ने, लावा, अक्षता, फूल, चन्दन, अबीर, केशरी आँखामा नपार्ने, दाताको आँखा बन्द गरेर राख्ने, आँखाको कर्निया झिक्न फोन नम्बर ९८५१० २०९३३ मा फोन गरेर आफूहरूले कुरेर बसेको ठाउँको प्रष्टसँग ठेगाना बताउने, अस्पताल, क्लिनिक, घर वा घाटमा मृतक व्यक्तिसँगै कुरेर बस्दा त्यहाँ जम्मा भएका मानिसलाई मृतकका आँखाका नानीले दृष्टिविहीन दुईजनाले संसार देख्ने पुण्यको कामबारे बताउने, डाक्टरले मृत घोषणा गरेपछि आँखाको नानी झिक्न सम्बन्धित संस्था, अस्पताल वा फोन भएका व्यक्तिसँग सम्पर्क गर्ने ।
यसरी सावधानी अपनाएर कुनै पनि धर्ममा आस्था भएका कुनै पनि लिंग र उमेरका व्यक्तिले आँखाको नानी दान गर्न सक्छन् । मरेपछि दिन सक्ने आँखा दान महादान हो । एकजना मरेको व्यक्तिले दिएको दानले दुईजनाले आँखा देख्न सक्छन् । हामी सबै सचेत भएर आँखा दानबारे प्रचार-प्रसार गरौं । सार्वजनिक स्थलमा आँखादानबारे पोस्टर टाँस्ने र पम्पप्लेट बाँड्ने गरौं । सचेत नागरिकको कर्तव्यपालन गरौं ।

        Dr.Bina Paudyal

-Annapurnapost-

Show More

Related Articles

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker